Logo
Logo

कुवेतमाथि सानदार जित, नेपाल विश्वकपको क्वालिफायर नजिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ साउन । सिंगापुरमा जारी ‘आईसीसी टी-२० विश्वकप छनोट एसियाअन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ । आज बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित निकालेको छ । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ ।

यस जितसँगै नेपाल टी–२० विश्वकपको ग्लोबल क्वालिफायर नजिक पुगेको छ । नेपालको जितका लागि कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेले । खडकाले १ छक्का र ११ चौकासहित ४२ बलमा ६८ रन बनाए । त्यसैगरी शदर भेषवाकरले ३८ रन र ज्ञानेन्द्र मल्लले १९ रनको योगदान गरे । रोहितकुमार पौडेलले ६ रन जोडे भने दीपेन्द्रसिंह ऐरी १ रन बनाएर आउट भए ।
त्यस्तै, कुवेतका लागि मोहमद काषिफले मात्रै नेपालको ३ विकेट लिए । नेपालले टस जितेर बलिङ रोजे पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी आदनन इन्द्रेसले २५ र मोहमद अस्लामले २३ रन बनाए । ९औँ विकेट गुमेपछि कुवेतले १० बलमा २९ रन जोड्न सफल भएको थियो । कप्तान काषिफले ३६ बलमा ४ छक्का र २ चौका गरी ४९ रन बनाए थिए ।

नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले ३–३ विकेट लिए । करण केसीले २, अभिनाश बोहरा र सोमपाल कामीले १–१ विकेट लिए । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाललाई टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनका लागि आइतबार हुने खेलमा सिंगापुरमाथि जित हात पार्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्