
काठमाडौं । नेपालले भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ ।
दुई देशको सरकार तहमा गत फेब्रुअरीमै मल खरिदको सम्झौता भए पनि कार्यान्वयन गर्ने निकाय भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) र कृषि सामग्री कम्पनीबीच बुधबार मात्रै औपचारिक सम्झौता भएको हो ।
यो सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ । आर्थिक वर्ष ०८३/८४ सम्मका लागि मल खरिद गर्न साउन १ गते उक्त सम्झौता भएको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए ।
‘धेरै छलफलपछि सम्झौतामा हस्ताक्षर भएको छ, भारतको आरसीएफले बेच्ने हो, हामीले किन्ने हो । सम्झौता भइसकेकाले अब आपूर्तिमा सहजता हुनेछ,’ उनले भने, ‘धानका लागि हतारो थियो र हामीले अधिकतम प्रयास गर्यौं, कतिपय सन्दर्भले गर्दा कुरा मिल्न सकेको थिएन । अब गहुँ खेतीका लागि सहज हुन्छ ।’ भारतबाट जीटूजी व्यवस्थाबाट ५ वर्षका लागि रासायनिक मल ल्याउन सम्झौता भएको हो ।’ कार्कीले भने ।
सम्झौताअनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार, चौथो र पाँचौं वर्षमा २ लाख १० हजार मेट्रिक टन मल नेपालले भारतसँग खरिद गर्न पाउने उल्लेख छ । त्यसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी हुनेछ । पहिलो वर्ष १ लाख ५० हजार टन खरिद गर्ने सम्भावना नरहेको जानकारहरू बताउँछन् ।
नेपालले मल आवश्यकताका लागि गरेको आग्रहपछि भारतीय कम्पनीले ग्लोबल टेण्डर गरेर मल खरिद गर्ने र त्यसपछि नेपाललाई बिक्री गर्ने गरी दुई कम्पनी बीच सम्झौता भएको छ ।
भारतीय कम्पनीले नेपाली कम्पनीकै नाममा बोरामा प्याकिङ सहित मल नाकामा बुझाउने सम्झौतामा उल्लेख छ । मलको ढुवानी गोदाम बिराटनगर, भैरहवा र वीरगन्ज नाका तोकिएको कार्कीले बताए ।












