
१. अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन तयार पार्यो, करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ प्रतिवेदनमा उल्लेख, सत्तापक्षमा रहेका सांसदहरु एकमत, प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको फरक राय ।

२. प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभा पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित, विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरी आएलगत्तै उनले वैवाहिक अंगीकृत नागरिकता पाउने, गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार, दुबै सदनबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्ने ।

३. नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने धारणा, कांग्रेससँगै सहकार्य गर्ने भएकाले दायाँ–बायाँ नसोच्न नेताहरुलाई आग्रह ।

४. प्रतिनिधि सभार प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी, आगामी मंसिर पहिलो साताका लागि निर्वाचनको मिति घोषणा गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल, दुई दिन भित्रमा निर्वाचनको मिति घोषणा हुने प्रचण्डको भनाइ ।

५. २०६४ को निर्वाचन जस्तै आगामी संसदीय निर्वाचनमा झापाबाट पराजित हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई डर, ६४ को गल्ती दोहोर्याउने छुट कसैलाई नभएको भन्दै आम मतदातालाई धम्कि, स्थानीय तहमा एमालेका कार्यकर्ताले अन्य पार्टीलाई मतदान गरेका कारण पार्टीका उम्मेदवार पराजित भएको आरोप ।

६. पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ पार्टी ‘नेपाल समाजवादी’ निर्वाचन आयोगमा दर्ता, समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइयो, चुनाव चिन्ह खुलेको एक आँखा, अध्यक्षलगायत केन्द्रीय सदस्यको अद्यावधिक हुन बाँकी, केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने ।

७. नेपालमा दुई शक्तिराष्ट्र अमेरिका र चीनको आवतजावत बढ्दो, अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा, सहायक विदेशमन्त्री लुद्वारा ८ महिनामा दुई पटक नेपाल भ्रमण, दुई दिनसम्म नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्का लगायतसँग भेटवार्ता गर्ने ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १५.४९ अंकले बढेर दुई हजार १२७.४७ पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७० अंकले उकालो लागेर ४०५.६२ मा कायम, २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँमा खरिद बिक्री, १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट ।

९. नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले जमैका तलाबाजबाट ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने, वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले सन्दीपलाई टिममा राख्यो, जमैकाले सीपीएलका लागि अनुबन्ध गरेको सन्दीपसहित पाँच विदेशी खेलाडीलाई नै यस प्रतियोगितामा खेलाउने ।

१०. रूसी, फ्रान्सेली र अमेरिकी नेताहरू युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथापमा, शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा, रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यसै साता धेरै अफ्रिकी देशको भ्रमण गर्दै ।













