
काठमाडौँ । नेपाली कांग्रेसका महिला नेताहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा महिलालाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाउन माग गरेका छन् ।
उनीहरुले अब महिलाहरु पनि निर्वाचन लड्न सक्षम रहेका भन्दै वर्तमान कानुन संशोधन गरेर भएपनि प्रत्यक्षतर्फसमेत उल्लेख्य महिलाको उम्मेदवारी हुने र जित्ने मानसिकताको सिर्जना गरिनुपर्ने माग गरे ।
महिलाहरुले अहिलेको कानुनमा संशोधन गरेर दुई वा सोभन्दा निर्वाचन क्षेत्र भएका ठाउँमा दलहरुले अनिवार्य महिला उम्मेदवार बनाइनुपर्ने माग गरे । पूर्वराज्यमन्त्री एवम् केन्द्रीय सदस्य सीता गुरुङको संयोजनमा काठमाडौंमा भएको ‘निर्वाचन प्रणाली र महिलाको प्रतिनिधित्व’ विषयक कार्यक्रममा नेताहरुले नेपालमा सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउन आवश्यक रहेकोमा जोड दिए ।
पार्टीहरुले उम्मेदवारी दिँदा एक तिहाई महिला उम्मेदवार हुनुपर्ने उनीहरुको माग छ । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले आगामी निर्वाचनमा पार्टीले उम्मेदवारी दिने पदमध्य एक तिहाईमा महिला उम्मेदवार बनाउनुपर्ने माग गरिन् । ‘महिलाहरु हिजो चुनावमा जान डराउँथे होला । तर अहिले त्यस्तो छैन । महिलाहरु पनि चुनाव लड्न तयार छन् । हामी तयार छौं,’ उनले भनिन्, ‘दलहरूमा महिलाप्रतिको पुरानो सोच कायम छ, त्यो हटाइनुपर्छ ।’
उपसभामुख पुष्पा भुसालले राजनीतिक दलहरुले चुनावमा प्रत्यक्षतर्फ नै महिलालाई उम्मेदवार बनाउने र कार्यकारी पदहरुमा समेत महिलालाई अवसर दिने अभ्यास गर्नुपर्ने बताइन् । उनले अब महिलाहरु पनि मुलुकको कार्यकारी प्रधानमन्त्री बन्न सक्षम भइसकेका बताइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलालाई उम्मेदवार बनाउने र जिताउनेबारेमा कानुनमै व्यवस्था हुनुपर्ने बताइन् ।
‘महिला सक्षम छन् । तर चुनावमा अस्वभाविक खर्च गर्न महिलालाई स्रोत साधनको अभाव छ । त्यहीकारण महिलालाई उम्मेदवार नै नबनाउने चलन छ,’ उनले भनिन्, ‘त्यसको सट्टा वर्तमान कानुनमै संशोधन गरेर महिला अनिवार्य उम्मेदवार बन्ने र चुनाव खर्चकालागि सरकारले सहयोग गर्ने कानुनी व्यवस्था हुनु आवश्यक छ ।’ उनले महिला उम्मेदवारलाई पार्टीले समेत विशेष व्यवस्था गरिदिनुपर्ने माग गरिन् ।
प्रमुख सचेतक चित्रलेखा यादवले पार्टीले महिलालाई मौका दिएर हेर्नुपर्ने बताइन् । ‘कानुनले महिलालाई आरक्षण दिएको छ । तर हामी कहाँ अझैपनि कानुनले दिएभन्दा अरु ठाउँ नदिने अभ्यास छ । अब महिलालाई दलहरुले अवसर दिनुपर्छ,’ उनले भनिन् । कार्यक्रममा उपसभामुख पुष्पा भुसालले नागरिकता विधेयकमा भएका विषय र सवल पक्षहरुका विषयमा धारणा राखेकी थिइन् भने नेता मिनेन्द्र रिजालले निर्वाचनमा महिला सहभागिता र महिलाको प्रतिनिधित्वबारे धारणा राखेका थिए ।
केन्द्रीय सदस्य गुरुङले राज्यका विभिन्न तहमा महिला प्रतिनिधित्व बढाउन दलहरुले इच्छाशक्ति बढाउन आवश्यक रहेको सुझाव प्राप्त भएको बताइन् । ‘दलहरुको इच्छाशक्ति नहुँदा महिलाको प्रतिनिधित्व कमजोर बनेको समीक्षा भयो । अब आउने चुनावमा महिलाहरुले प्रत्यक्षमा नै धेरै उम्मेदवारी दिनुपर्ने र त्यसो भएमा मात्रै समानुपातिकतर्फ पुरुषहरु पनि निर्वाचित हुने अवस्था आउने सुझाव छन्,’ उनले भनिन् ।
उनले पार्टीमा बंशाणुगत राजनीति हाबी भएको र तल्लो तहका महिलालाई संघर्ष गरेर राज्यको माथिल्लो तहमा पुग्न सकस हुने अवस्था रहेकोबारे गम्भीर समीक्षा हुनुपर्ने आवश्यक रहेको बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसको विधानमा महिला प्रतिनिधित्वको व्यवस्था र १४ औँ महाधिवेशनमा महिला सहभागिता लगायत विषयमा समेत छलफल भएको थियो ।
अघिल्लो निर्वाचनमा कांग्रेसले ६ सिटमा मात्रै महिलालाई उम्मेदवार बनाएको थियो ।














