काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा सोमबार एकै परिवारका ४ जना मृत फेला परेका छन् । काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत भेटिएका हुन् ।

प्रहरी अधिकृतहरुका अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका दिनेश कार्कीले श्रीमती सुनिता काप्री पाण्डे र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।
घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ, जुन दिनेशको भएको मानिएको छ । सुसाइड नोटमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।
प्रहरीका अनुसार सुनिता ६ महिनाको सिजनल भिसा बेलायत जाने तयारीमा थिए । सुनिता दुई सातापछि बेलायत उड्ने तयारीमा थिए । पारिवारिक झगडाकै कारण दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले गरेका छन् ।
दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।














