काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन् ।
पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको बताए ।

पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ । धेरै पहिलेदेखि तल्लो शारदा नहर पनि चलेको रहेछ । त्यस समयमा चर्चा भएन । त्यसले गर्दा कन्जक्टिभ वाटर (पानी खपतको बाँडफाँट)को विषयमा प्रसस्त छलफल हुन पाएन । कतिपय ल्याप्सेस (कमजोरी) रहे ।’
‘त्यसलाई (तल्लो शारदा नहर)को पानी दिन्छु भनेर कबुल गरिएको छैन । जति पानी छ त्यसको आधारमा आधा भनेको हो । महाकाली सन्धिले आधा पानी नेपालको हो भनेर स्थापित गरेको छ,’ उनले भने ।
त्यसबेलाको सरकारले टनकपुर बाँध सम्बन्धी भारतसँगको सम्झौतालाई सन्धि वा सम्झौता नभनेर समझदारीको नाम दिएर २०४७ को संविधानको धारा १ सय २६ छल्न खोजेको पनि उनको आरोप थियो ।














