Logo
Logo

प्रहरी र गुप्तचरमा दरबन्दीको खेल



काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च पदमा हचुवाको भरमा दरबन्दी थप्ने चलखेल सूरु भएको छ । भागबन्डा मिलाउन र आफ्ना मान्छेलाई बढुवा गर्न दरबन्दी थप्न लागिएको हो ।

गुप्तचरमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको एक पद थप्न लागिएको छ । कसलाई बढुवा गर्ने भन्ने विवादमा विभागमा यस्तो पद रिक्त रहदै आएको छ । सत्तारुढ दलहरु कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा मिलाउन दरबन्दी थप्न लागिएको हो । जसमा कांग्रेसबाट ओम जोशी र माओवादीको सिफारिसमा हुतराज थापाको बढुवा गर्न लागिएको छ । एक महिनापछि उनीहरुमध्ये एक विभागको प्रमुख हुनेछन् । बढुवामा चर्काे चलखेलले बैशाखदेखि नै एक पद रिक्त छ ।

सशस्त्र प्रहरीमा पनि एआइजीको दुई दरबन्दी थप्न लागिएको छ । एकेडेमी र सीमा विभागमा एआइजी राख्न लागिएको हो । यसका लागि ओएण्डएम सर्वेक्षण अघि बढीसकेको स्रोत बताउँछ ।

नेपाल प्रहरीमा पति डिआइजीको तीन दरबन्दी थपिने सम्भावना छ । हाल तीन डिआइजीले काजमा खटाइएका कार्यालयमा दरबन्दी थप्न लागिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालय, काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालय र भरतपुर तालिम केन्द्रमा डिआइजीको दरबन्दी राख्न लागिएको छ ।

विमानस्थलमा हाल डिआइजी श्यामलाल ज्ञवाली, ट्राफिकमा मिरा चौधरी र भरतपुर तालिम केन्द्रमा सन्दीप भण्डारी कार्यरत छन् । यी निकायमा विगतमा डिआइजीकै दरबन्दी राखिएकोमा केपी ओली सरकारले कटौती गरेको थियो । तीन दरबन्दी थप्न सके गत महिनाको बढुवामा छुटेका तीन एसएसपीलाई तान्न सकिने प्रहरी नेतृत्वको योजना छ । जसमा विष्णु कुमार केसी, भरत बोहरा, कुबेर कडायत, जनकराज भट्टराई लगायत छन् । प्रहरीले हचुवाका भरमा दरबन्दी थप्ने र काट्ने काम हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्