काठमाडौं । एमालेले विप्लव नेतृत्वको नेकपा माओवादीका नेता कार्यकर्तालाई गिरफ्तारीका लागि काटेको पत्र फिर्ता लिन सरकारलाई ध्यानाकर्षण गराएको छ ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक विशाल भट्टराईले तत्कालीन केपी ओली सरकारले गरेको सम्झैतालाई कार्यान्वयन गर्नका अलवा सरकार फेरि उक्त पार्टीलाई द्वन्द्वतिर फर्काउन उद्दत रहेको टिप्पणी गरे ।
उनले भने, ‘नेकपा माओवादी (विप्लव) समूहलाई थप कारबाही गर्न सरकारले पत्र काटेको छ। हतियार बोकेर सशस्त्र युद्धमा हिँडेको पार्टीलाई तत्कालीन केपी ओली सरकारले तीन बुँदे सहमति गरेर हिंसात्मक बाटो छोडाएर शान्तिपूर्ण बाटोमा ल्याएका थियौं, अघिल्लो सरकारले गरेको सम्झौतालाई निरन्तर अगाडि बढाउनुपर्नेमा यो सरकार अनेक बाहानामा विप्लव समूहलाई पत्र काट्ने र फेरी त्यही बाटो रोज्न विवश बनाउनका लागि उद्दत भएको छ। यस्तो कामबाट पछि हट्न र उक्त पत्र फिर्ता लिन सरकारलाई गम्भिरतापूर्वक ध्यानाकर्षण गराउँछु ।’














