
काठमाडौं । हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका विभिन्न स्थानमा केही दिनयता भारी वर्षा भएको छ । जसका कारण बाढी तथा पहिरो जाँदा कतिपय स्थानमा सडक अवरुद्ध भएका छन् । दैनिक जनजीवन प्रभावित भएको छ ।
कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्वत, गोरखा र आसपासका केही स्थानमा पनि भारी वर्षा भएकाले उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले बिहानसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
दोलखामा पनि गएराति भारी वर्षा भएको छ । तामाकोशी नदी, गोंगर जगतमा जलसतह ४.५२ मिटरले बढेको छ । जलस्तरले सतर्कता तह पार गरेको र नदी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेले बिहानसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती भने गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका स्थानहरुमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।














