Logo
Logo

डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी


8.8k
Shares

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ ।

उनले कीर्ते गरी नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले उपप्रमुख मीराकुमारी यादवविरुद्ध उजुरी परेको जानकारी दिए ।

उपमेयर यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको उजुरीमा दाबी गरिएको छ । मीरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको आरोप लगाइएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेको दाबी गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणको रुपमा उजुरीमा उल्लेख छ ।

मीरालाई उपप्रमुख पदबाट निलम्बन गरी आवश्यक कानुनी कारबाहीसमेत माग गरिएको उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको छ । तर उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ । 

प्रमाणको रुपमा पेस गरिएका कागजात र आरोपको सत्यता अनुसन्धानबाट मात्र खुल्ने भएकाले अहिले नै दोषीको रुपमा हेर्न नमिल्ने सहायक प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

उपप्रमुख यादव गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिधिनि हुन् ।

प्रतिक्रिया दिनुहोस्