Logo
Logo

सशस्त्रमा को बन्ला डिआइजी ?



काठमाडौं । सशस्त्र प्रहरीको एसएसपी विवाद चरम विवादमा तानियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना आफन्त दीपेन्द्र कुँवरलाई बढुवा गर्न दिएको दबाबले सशस्त्र प्रहरीका इमान्दार अधिकृत निराश बनेका छन् । अन्ततः देउवाले कुँवरलाई एक नम्बर एसएसपी बनाएरै छाडे ।

त्यति मात्र होइन ब्याच नै टपेर उनलाई डिआइजी बनाउने खेल पनि चलिरहेको छ । सशस्त्र प्रहरीमा डिआइजीका तीन पद रिक्त छन् । बढुवाको चलखेलकै कारण ती पदमा निर्णय हुन सकेको छैन ।

सशस्त्रको सि सं १ का एसएसपीहरु डिआइजी बढुवाका प्रमुख दाबेदार हुन् । सो ब्याचबाट दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ,अञ्जिनीकुमार पोखरेल, पुरुषोत्तम थापा डिआइजी बढुवाका प्रमुख दाबेदार हुन् । तर, ब्याच नै टपेर सि सं २ का कुँवरलाई बढुवा गर्न दबाब दिइएको छ । सोही दबाबका कारण आइजिपी राजु अर्यालले डिआइजी बढुवाको प्रक्रिया रोकेका छन् ।

अहिलेको आइजिपीपछि नारायदत्त पौडेल आइजिपी हुने सम्भावना छ । त्यसपछि हाल डिआइजी रहेका कमल पाठक र गणेश ठाडामगरको ब्याचबाट बढुवा हुनेछ । त्यसपछिको अवस्थामा सशस्त्र प्रहरीका फ्रेस भर्नाको ब्याच नेतृत्वमा पुग्नेछन् ।

सात वर्षपछिको आइजिपीका लागि अहिले नै अस्वस्थ चलखेल अघि बढेको हो । यसरी क्षमता नै नभएका कुँवरलाई यसरी ब्याच नै टपेर बढुवा गर्न खोज्दा सशस्त्र प्रहरी भातृ संगठन बस्ने जोखिम बढेको छ ।

उता सशस्त्र प्रहरीको अनुगमन इकाईका डिएसपीहरु अनुगमनका नाममा व्यक्तिगत फाइदा लिने गतिविधिमा लागेको आरोप लागेको छ । डिएसपीहरु बिनोद कार्की, उमेश थापा र सुदीप रेग्मीमाथि यस्तो आरोप लागेको हो । तिनै जना डिएसपी पूर्व आइजिपी पुष्पराम केसीका निकटस्थ हुन् ।

केसी आइजिपी हुँदा नै उनीहरुलाई डिएसपीमा बढुवा गरेर अनुगमन इकाईमा राखेका थिए । केसी तीन हप्ता आइजिपी हुँदा उनीहरुले ल्यापटपमै सचिवालय चलाएका थिए । अहिलेका आइजिपीले पनि उनीहरुलाई हटाउन सकेका छैनन् । जसकारण उनीहरुले निकटस्थलाई गल्ती गर्दा पनि उन्मुक्ति दिने र केहीलाई अनावश्यक दुःख दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्