Logo
Logo

बज्रबाराही चापागाँउ अस्पताललाई भवन र चिकित्सकको अभाव


रासस


ललितपुर । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव रहेको छ । अस्पतालमा आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा सुविधाको लागि अप्ठयारो परेको छ ।

‘राम्रो भवन नभएकाले दिइनुपर्ने जति उपचार सेवा दिन सकिरहेका छैनाैँ, अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले भने । उनले ‘हामीले व्यवस्थित भौतिक संरचना अभावका कारण कयौँ उपचार सेवा सुरुआतनै गर्न पाएनाैँ । भवन राम्रो भए प्रसूति तर्फ शल्यक्रियाको सेवा दिने थियौँ ।’ हालसम्म सो अस्पतालले शल्यक्रियारहित प्रसूति सेवा दिँदै आइरहेको दर्नालले जानकारी गराए ।

‘आधुनिक भवन बनाउन सरकारसँग दश करोड मागेकोमा दुई करोड पाउने आश्वासन पाएका छाँै । सो रकम भएपनि शल्यक्रिया सेवा दिन सक्थ्यौँ’ उनको भनाइ छ ।

अस्पतालमा भिडियो एक्स–रे सेवा भएपनि समय अनुसारको अझै आधुनिक उपकरणको आवश्यकता महसुस गरिएको जनस्वास्थ्य निरीक्षक सुद्रर्शन बजगाईंले बताए । उनले भने, ‘अस्पतालमा थाइराइड परीक्षण गर्ने प्रविधिको समेत अभाव छ ।’

उक्त अस्पताल कहिले स्थानीय त कहिले प्रदेश सरकार मातहत चल्ने भन्ने अन्यौलले उपचार सुविधा दिन कठिनाइ भइरहेको बजगाईंको बुझाइ छ । सो अस्पताल हाल वाग्मती प्रदेश सरकार मातहतको रहँदा अस्पताललाई चाँहिने जस्तो उपयुक्त भवन नरहेका कारण बाल तथा स्त्रीरोगसम्बन्धी सेवालाई प्रभावकारी बनाउन नसकेको प्रशासन शाखा प्रमुख हीराबहादुर कार्कीले बताए ।

उनले भने, ‘भवनसँगै चिकित्सकको पनि अभाव छ ।’ अस्पताल अहिले १५ शैयाको । साथै २५ शैयाको स्वीकृत पाइसकेको र पछि पुनः एक सयसम्मको हुने योजनामा अघि बढिरहेको कार्कीले जानकारी गराए । चापागाउँ अस्पतालले बहिरङ्ग, २४औँ घण्टे विभिन्न आकस्मिक तथा परिवार नियोजन सेवा, रगत र कोरोना परीक्षण, क्षयरोग सम्बन्धित खकार जाँच, एक्स–रे एवं भिडियो एक्स–रे हुँदै दुई एम्बुलेन्समार्फत बिरामीलाई सेवा दिइरहेको दर्नालको भनाइ छ ।

विगतमा ‘बज्रबाराही सामुदायिक अस्पताल’को नामले सञ्चालन भएको सो अस्पताल हाल भने ‘बज्रबाराही चाँपागाउँ अस्पताल’ को नामले उपचार सेवा दिइरहेको छ । सो अस्पतालमा गोदावरी, दक्षिण ललितपुरका वाग्मती तथा कोञ्ज्योसोम र महाङ्काल गाउँपालिकाका हुँदै मकवानपुरवासी समेत सेवा लिन आउने गरेका बजगाईँले सुनाए ।

अस्पतालमा कोभिड परीक्षण गर्ने पिसिआर प्रयोगशालासहित अक्सिजन उत्पादन गर्ने प्लान्टकोसमेत व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्