काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् ।
साउन २२ गते प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग सिफारिस समितिमा पठाएको थियो । तर, हालसम्म सिफारिस समितिले काम सुरु गरेको छैन ।

सभामुख सापकोटाले बुधबार महाअभियोगको सिफारिस समितिको सहजीकरण बैठक राखेका थिए । बैठकमा ११ सदस्यीय छानबिन समितिका ८ जना उपस्थित थिए ।
संघीय संसद सचिवालयका महासचिव र सचिवलगायतको उपस्थिति रहेको बैठकमा सिफारिस समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ ।
सहजीकरण बैठकमा बोल्दै सभामुख सापकोटाले महाअभियोगबारे प्राप्त जिम्मेवारी छिट्टै सम्पन्न गर्न आग्रह गरेका हुन् ।
११ सदस्यीय महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह छन् ।














