Logo
Logo

‘बालोन डि’ओर’को मनोनयन सूचीमै परेनन् मेस्सी र नेयमार


एजेन्सी


काठमाडौं । गत वर्ष ‘बालोन डि’ओर’ जितेका लियोनल मेसी यसपटक मनोनयन समेत परेनन् । शुक्रबार राति सार्वजनिक गरिएको ३० खेलाडीको मनोनयन सूचीमा मेसी अँटाएका छैनन् । जो यसअघि ७ पटक विजेता बनेका थिए ।

विश्व फुटबलमा प्रसिद्ध मानिने पुरस्कार बालोन डि’ओरको पहिलो प्रारम्भिक सूचीमा मेसी सन् २००५ पछि पहिलो पटक प्रारम्भिक सूचीमा नपरेका हुन् ।

क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, किलियान एम्बाप्पे, करिम बेन्जेमा, एर्लिङ हालान्ड, मोहम्मद सलाह, साडियो माने, केभिन डे ब्रुएना, ह्यारी केन र सन ह्युङ मिन जस्ता खेलाडी सूचीमा परेका छन् । मेसीसँगै पेरिस सेन्ट जर्मेन पीएसजीकै अर्का खेलाडी नेयमार पनि सूचीमा परेका छ्रैनन् ।

गत सिजन इंग्लिस प्रिमियर लिग जितेको म्यानचेस्टर सिटी र दोस्रो भएको लिभरपुल तथा स्पेनी ला लिगा च्याम्पियन रियल मड्रिडका ६–६ खेलाडी ३० खेलाडी रहेको सूचीमा छानिएका छन् ।

यही सिजनमा मेनचेस्टर सिटी गएका हालान्ड र डे बु्रएनाबाहेक सिटीका फिल फोडन, जोआओ कान्सेलो, रियाद माहरेज र बर्नादो सिल्भा छन् भने लिभरपुलका सलाहसँगै भर्जिल भान डाइक, डार्विन नुनेज, लुइस डियाज, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र फाबिन्हो छन् ।

रियलको टोलीमा कप्तान बेन्जेमाले नेतृत्व गरेका छन् । रियलका कासेमिरो, थिबाउट कोर्टुवा, लुका मोड्रिच, भिनिसियस जुनियर र एन्टोनियो रुडिगर पनि सूचीमा परेका छन् ।

बाँकी खेलाडी भने आयाक्सका सेबेस्टियन हालेर, एसी मिलानका राफाएल लिआओ र माइक माइगान, आरबी लाइपजिगका क्रिस्टोफर एन्कुन्कु र युभेन्टका डुसान भ्लाहोभिच छन् ।

फ्रान्स म्यागजनिले दिने यो पुरस्कारको समारोह अक्टोबर १७ मा आयोजना गरिँदैछ । गत सिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडीको सूची तयार पारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्