Logo
Logo

इटहरी उपमहानगरका प्रमुख चौधरीले गरे यस्तो प्रतिबद्धता


- दृष्टि न्युज/संवाददाता


इटहरी । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका गाँउ गाउँमा विकासको लहर छाएको दाबी गरेका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजीनामा दिने बताएका छन् । इटहरीमा सडक निर्माणको कामले गाउँ गाउँमा तीव्रता लिएको बताए ।


इटहरीका ११ सडक बहुवर्षीय योजना अनुरुप निर्माण हुदैछन । ती सडक निर्माणपछि गाउँ र मुख्य सडकलाई पिच बाटोले जोड्नेछ । उपमहानगरका गाउँगाउँका जनतालाई पनि उपमहानगरवासी भएको अनुभूति दिलाउने गरी गाँउका मुख्य बटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उनले बताए । काम गर्न समय लाग्छ प्रमुख चौधरीले भने “तुरुन्तै कामको परिणाम नदेखिन सक्छ तर केही समयमै इटहरीमा विकासको नयाँ उचाई प्राप्त हुने गरी काम भइरहेको छ ।” गत बर्ष इटहरी उपमहानगरले करिब सात सय योजना सडक निर्माणको सञ्चालन गरेको थियो । चालु आर्थिक बर्षमा पनि भौतिक संरचना निर्माणलाई नै प्राथमिकता दिएको छ ।

उनले वाहय चक्रपथका लागि सहयोग गर्न संघ र प्रदेश सरकारसँग आग्रह गरेका छन् । इटहरी उपमहानगरले सो चक्रपथको डिपिआर निर्माणका लागि तीन करोड रुपियाँ छुटयाएको छ । इटहरीलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि योजना तयार भइरहेको प्रमुख चौधरीले बताए । व्यक्तिले भोगचलन गरेका करोडौं मूल्य पर्ने पोखरीहरु उपमहानगर मातहत ल्याएको, सार्वजनिक जग्गा खोजी अभियानलाई तिव्रता दिएको सुनाए । उनले आफू उपमहानगरमा निर्वाचित हुदाँ खाली आएको र जाँदा पनि खाली नै जाने बताए । तर उपमहानगरमा रहेका बेथिति हटाउँदै इटहरीको समृद्धि र विकासलाई भने नयाँ उचाइमा पुरयाउने बताए ।

प्रमुख चौधरीले चलाएको भ्रष्टाचार विरोधी अभियानलाई सस्थागत गर्दै उपमहानगरको पाँचौ नगरसभाले “सुशासन र समृद्धि हाम्रो अभियान, भ्रष्ट्राचारविहीन सरल, सहज र पहँुचयुक्त इटहरी नगर प्रशासन” नारा नै तय गरेको छ । सभाले सुशासन ऐन समेत पारित गरिसकेको छ । इटहरीको सामाजिक, शैक्षिक, आर्थिक र भौतिक विकासका लागि सहयोग गर्न उनले उपमहानगरवासीलाई आग्रह गर्दै आफू सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने भनाइ राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्