काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूको गणपूरक संख्या नपुगेपछि लगातार दुई पटक बैठक स्थगित भएका छन् ।
सरकारले प्रस्तुत गरेका विधेयक पारित गर्नु सत्तापक्षका सांसदहरुको दायित्व हो । तर, सत्तापक्षकै सांसदहरुले बंक गरेपछि आइतबार दुईपटक प्रतिनिधिसभा बैठक स्थगित गरियाे ।

पहिलो चरणको बैठकमा सभामुखले कार्यसूचीमा रहेका विधेयक अघि बढाउँदा गणपूरक संख्या नपुगेको भन्दै प्रश्न उठेको थियो । सचिवालयका कर्मचारीमार्फत गणना गर्दा आवश्यक संख्या ६९ जना सांसद उपस्थित नभएका कारण सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका थिए ।
यस्तै, अपरान्ह साढे २ बजे पुनः बसेको बैठकमा कार्यसूची अघि बढाउन खोज्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या रहेको वा नरहेको भनी एक पटक गन्न आग्रह गपछि ३ मिनेट जनाउ घण्टी बजाइयो ।
त्यसबीचमा पनि गणना गर्दा ६७ जनामात्र सांसद उपस्थित भएका कारण एक चौथाई सांसद नभएको भन्दै प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न नमिल्ने भनी सभामुखले साउन ३१ सम्मलाई बैठक स्थगित गरेका छन् ।
संविधानको धारा ९४ को व्यवस्था अनुसार संघीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्न नमिल्ने प्रावधान रहेको छ ।














