Logo
Logo

कास्कीबाट चुनाव लड्ने तयारीमा वामदेव


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १८ साउन ।
नेकपाका सचिवालय सदस्य वामदेव गौतम कास्कीबाट चुनाव लड्ने तयारीमा लागेका छन् । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका रबिन्द्र अधिकारीको क्षेत्रमा उनी चुनाव लड्न लागेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नै यससम्बन्धि प्रस्ताव राखेका छन् । तर, निर्णय भइसकेको छैन । पछिल्लो समय ओली र गौतमबीच सम्बन्ध सुधार भएको छ । सोही अनुसार पार्टीमा पनि उनले संगठन विभाग प्रमुखको जिम्मेवारी पाउने पक्का भइसकेको छ ।

UML leader Bam Dev Gautam speaks to media during a tea receiption organised at the Presidential Palace, on Monday, October 16, 2017. Photo: RSS

विगतमा विभिन्न सांसदलाई राजिनामा दिन लगाएर चुनाव लड्ने गौतमको योजना सफल भएको थिएन । त्यसमा ओलीले आफूलाई असहयोग गरेको गौतमको बुझाई थियो । केही दिनअघिको बैठकमै ओलीले गौतमलाई उठाउनेबारे छलफल गरेका थिए ।

यस अघि नेता गौतम काठमाडौं, डोल्पा, प्युठानलगायतका जिल्लाबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । तर, पाटीभित्र सहमति जुटन नसक्दा उपचुनाव लड्ने उनको चाहना अधुरै रहेको थियो ।
निर्वाचन आयोगले मंसिर १४ मा उपनिर्वाचनको तयारी गरेको छ ।
आयोगका अनुसार उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक, गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१, प्रदेशसभा सदस्य तीन र प्रतिनिधिसभा सदस्य एक गरी कूल ५० पदका लागि उपनिर्वाचन हुनेछ । मिति तोकिएसँगै उपनिर्वाचनको तयारी थालिएको आयोगले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उपनिर्वाचनको मिति आयोगले तोक्ने प्रावधान छ । यसअघि बुधबार आयोगले प्रधानमन्त्रीसँग उपनिर्वाचनको बारेमा परामर्श लिएको थियो भने बिहीबार राजनीतिक दलहरूसँग छलफल गरेको थियो ।
गौतम नेकपा एकताका एक डिजाइनर हुन् । तर, उनले बर्दियाबाट चुनाव हारेका थिए । सांसद भएमा एकपटक प्रधानमन्त्री हुने महत्वाकांक्षमा उनमा रहेको नेकपाका नेताहरु बताउँछन् ।

कमेन्ट

प्रतिक्रिया दिनुहोस्