Logo
Logo

विश्व ‘हरित ऊर्जा’ प्रवर्द्धनमा केन्द्रित हुनुपर्छ : ऊर्जामन्त्री


378
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताएका छन् । उनले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को प्रवर्द्धनमा केन्द्रित हुुनुपर्नेमा जोड दिए ।

‘कोप–२७’ तयारीका लागि थाइल्याण्डको बैंककमा आज आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ विषयक सत्रमा भर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले भने, ‘स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विश्व केन्द्रित हुनुपर्छ, त्यसका लागि सामूहिकरूपमा जलवायु वित्तको जोहो गर्न आवश्यक छ ।’

उनले विशिष्ट भौगोलिक बनोट र जलवायु–संवेशनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको बताए ।

अतिकम विकसित मुलुक भएर पनि नेपालले ‘१.५ डिग्री तामक्रम’को लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले विश्वका मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्वकांक्षी लक्ष्य लिएर काम गर्नुपर्ने बेला आएको बताए ।

वार्षिक ऊर्जा खपत दरलाई आधार मान्ने हो भने नेपालमा उत्पादन भएको जलविद्युत् बढी हुने उल्लेख गर्दै उनले आगामी सन् २०२५ देखि नेपाल वर्षभरि नै जलविद्युत् निर्यात गर्ने मुलुक बन्ने जानकारी गराए ।

खपत गरेर बाँकी भएको ऊर्जा ‘हरित हाइड्रोजन’ उत्पादनमा प्रयोग गर्ने तयारी गरिएको बताउँदै मन्त्री भुसालले भने, ‘ग्रीन हाइड्रोजनका लागि हामीले उपयुक्त पहल गरिरहेका छौँ ।’

ग्रिन ग्रीड अवधारणाअनुसार कोप-२६ मा ‘एक सूर्य, एक विश्व र एक ग्रिड’ को सुरुआत गरिएको उल्लेख गर्दै उहाँले हरित ऊर्जासम्बन्धी विश्व अवधारणा पूरा गर्नका लागि नेपालजस्ता देशमा प्रसारण लाइनको निर्माण तथा पूर्वाधार विकासको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्