Logo
Logo

सुदुरपश्चिममा बाढीपहिरोबाट ४१ जनाको मृत्यु



धनगढी । सुदूरपश्चिम प्रदेशमा मनसुन सक्रिय भएको तीन महिनामा विपद्का कारण ४१ जनाको मृत्यु भएको छ ।

मनसुन सक्रिय भएयता विपदजन्य (बाढी, पहिरो तथा डुवान)मा परी ४१ जनाको मृत्यु भएको छ । त्यस्तै ११ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश आपत्तकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

सामान्यतः नेपालमा मनसुन जुन १३ मा सक्रिय भइ सेप्टेम्बर २३ मा निस्क्रिय हुन्छ । मनसुन सक्रिय भएयता बाढी, पहिरो तथा डुवानका कारण कैलाली, कञ्चनपुर, अछाम र दार्चुला जिल्ला बढी प्रभावित भएका छन् । उक्त अवधिमा सबैभन्दा मानवीय क्षति अछाममा भएको छ । कैलालीमा धेरै परिवार प्रभावित बनेका छन् ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण बाढी तथा पहिरोमा परी अछाममा २२ र कैलालीमा एक गरी २३ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । योसँगै शनिबारसम्म प्रदेशमा विपद्का विभिन्न ५० ठाउँमा मृत्यु हुनेको संख्या ४१ पुगेको हो ।प्रदेशमा बर्सेनि विपद्बाट भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ ।

प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट पनि अन्न बाली तथा मानवीय क्षति हुँदै आएको छ । प्रदेश आपत्तकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार मनसुन सुरु भएयता शुक्रबारसम्म प्रदेशका ४७ ठाउँमा बाढीपहिरो र डुबानबाट १८ जनाको मृत्यु भएको थियो ।

२६ जना घाइते भएका थिए । ४७ स्थानमा १ सय ४ घरपरिवार प्रभावित भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । दार्चुलामा पहिरो तथा बाढीमा परी ६ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । विपद्का विभिन्न घटनामा दार्चुलामा १२ जना घाइते भएका छन् । यस्तै विपदजन्य घटनाबाट मानविय क्षति भएका जिल्लामध्ये कञ्चनपुर तेस्रोमा छ ।

कञ्चनपुरमा विपदका कारण ४ जनाको मृत्यु र २ जना घाइते भएको प्रदेश आपत्तकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ । २०७८/७९ मा प्रदेशमा १ सय १३ विपदजन्य घटनामा परी ५० जनाको मृत्यु, २३ जना बेपत्ता र ५३ जना घाइते भएका थिए ।

सो आर्थिक वर्षमा सबैभन्दा बढी मानविय घटना डोटीमा भएको थियो । डोटीमा पहिरोमा परी १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्