Logo
Logo

चाडपर्वमा महिलालाई घरयासी कामको बोझ


756
Shares

टीकापुर । चाडपर्वका समयमा महिलालाई घरको काम थपिने गरेको छ । महिलालाई भान्सा तथा घर सरसफाइबाट फुर्सद पाउन मुस्किल हुने गरेको बताउँछन् ।

File Photo

नयाँ लुगा लगाएर, मीठामीठा खानेकुरा खाँदै आफन्तजनसँग भेटघाट गर्ने रहर सबैलाई हुन्छ तर अधिकांश घरका महिलाको दिन भान्सामै बित्ने गर्दछ । टीकापुरकी झुप्री साउँदको घरमा दशैँँ तथा तिहारका समयमा पाहुना बढ्छन् ।

यो समयमा उहाँका नन्द, आमाजू, भान्जाभान्जीलगायतका पाहुनाले घर भरिन्छ । दशैँँदेखि तिहारसम्म झुप्रीलाई घरको काम भ्याइनभ्याइ हुन्छ । ‘घरमा पाहुना भएपछि खानाको जोहो गर्नुप¥यो, बढी मानिस भएपछि घर पनि फोहोर हुन्छ’, उनले भने, ‘मलाई त पानी खानसमेत फुर्सद मिल्दैन । बिहानको खाजा, त्यसपछि खाना, दिउँसो नास्ता, अझ बेलुकाको खाना, त्यसैमाथि कुनै नयाँ परिकार खाऔँ भन्छन्, दिन पूरै भान्सामा बित्छ ।’

झुप्रीलाई यति धेरै काम गर्नुपर्दा परिवारका सदस्यले नसघाउँदा भने पीडा हुन्छ । ‘बुहारी हो भनेर सबै काम मैले नै गर्नुपर्छ । काम त सबै मिलेर गरेको भए चाडपर्व पनि रमाइलो लाग्थ्यो’, उनले भने, ‘श्रीमान्ले किनेर ल्याइदिने काम गर्नुहुन्छ । बाँकी सबै व्यवस्थापन आफैँले गर्नुपर्छ । दिनभरिको कामले थकान हुन्छ ।’

चाडपर्वका समयमा महिलाले पूजाका लागि सामग्री मिलाउनेदेखि भान्सामा पकाउने, खुवाउने सबै सबै जिम्मेवारी निर्वाह गर्नुपर्छ । घरभित्रका सबै काम प्रायः महिलाले गर्नुपर्छ भन्ने चलनले पश्रय पाएको छ । घरभित्रका सबै काम सम्हाल्दै आएका महिलालाई चाडपर्वमा अझ बढी जिम्मेवारी थपिन्छ । जानकी गाउँपालिकाकी साधना विकका घरमा समेत यस्तै हुन्छ ।

चाडपर्वमा उहाँलाई पनि कामले च्याप्छ । ‘चाडपर्व परिवारका लागि रमाइलो हुन्छ तर मेरा लागि बोझ हुन्छ’, उनले भने, ‘परिवारका अन्य सदस्यबाट सहयोगको अपेक्षा त गर्छु तर उहाँहरुले सघाउनु हुन्न । भान्सा र घर सफा गर्ने काम महिलाको हो भन्छन् ।’

साधनालाई एकातिर गाईवस्तुका लागि आहारा जटाउनु, अर्कोतर्फ चाडपर्वमा मीठा मीठा तथा मासुका थरिथरिका परिकार पकाउनु पर्दा निकै झण्झट लाग्छ । ‘घरभित्र गर्ने तर नदेखिने कामका बारेमा कसैले देख्दैन । कहिलेकाहीँ महिला भएकै कारण यतिधेरै जिम्मेवारी थपिएको छ जस्तो लाग्छ’, उनले भने, ‘सबैलाई पकाउने, खुवाउने काम सकेपछि आफूले खाने अनि घर सरसफाइ गरेर सकेपछि फुर्सद पाउने हो ।’

जोशीपुर गाउँपालिका–४ की रुपाली धामीलाई दशैँँको टीकाको दिन नजिकिँदै जाँदा घर सफा गर्ने कामबाट धपडी सुरु हुन्छ । घरमा आएका पाहुनाको स्वागत, सत्कारसँगै दशैँँको टीकाको दिन आउने पाहुनाका लागि केही परिकार तयार पार्ने काम मेरै हुन्छ’, उनले भने, ‘यी सबै काम सकेर टीका थाप्न माइत जाने हो । यी काममा परिवारका अन्य सदस्यले समेत सघाउने भइदिएको भए चाडपर्वमा समेत रमाइलो हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्