रामेछाप । रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध दोहोरो बागी खडा भएका छन् । गठबन्धनमा सीट नपाएको नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको छ भने कांग्रेस र माओवादीबाटै पनि बागी उम्मेदवार कायमै छन् ।

उम्मेदवारी फिर्ता लिने बुधबार अन्तिम समयमा प्रदेशतर्फ बागी उम्मेदवारी दिएका माओवादी नेताहरु क्षेत्र नम्बर १ का रविन्द्र पौडेल र २ का डिल्लीमान तामाङले मात्र फिर्ता लिएका छन् । उनीहरु माओवादीकै तारानारायण श्रेष्ठ र युवराज चौलागाईविरुद्ध उम्मेदवारी दिएका थिए । अन्य उम्मेदवारको कायमै रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
गठबन्धनका प्रतिनिधिसभातर्फ कांग्रेस जिल्ला सभापति पुर्णवहादुर तामाङ उम्मेदवार रहेका छन् । उनीविरुद्ध कांग्रेसका नेता चन्द्रवहादुर राउतले बागी उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी कायमै छ ।
यस्तै, २०७४ मा लिखु तामाकोशी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष उम्मेदवार बनेका राउतले आफ्नो उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।
त्यस्तै कांग्रेसका अर्का नेता केदार खड्का नेपाली कांग्रेस (विपी)बाट कान्छारामविरुद्ध उम्मेदवारी दिएका छन् भने कांग्रेसको महिला संघका पूर्वअध्यक्ष जमुना कार्कीले प्रदेश सभा क्षेत्र नम्बर १ तर्फ बागी उम्मेदवारी दिएकी छन् ।
माओवादी उम्मेदवार तारानारायण श्रेष्ठविरुद्ध कार्कीको उम्मेदवारी कायमै छ । उनले पार्टीभित्र आफ्ना मान्छेहरुको दबदबा बढेपछि राजनीतिक मान्छेमाथि अन्याय भएको भन्दै विद्रोह गरेको बताए ।
यस्तै, प्रतिनिधिसभातर्फ माओवादीका प्रदेश कमिटी सदस्य रामकुमार तामाङको बागी उम्मेदवारी पनि कायमै छ । रामेछापमा एमालेबाट प्रतिनिधिसभामा जिल्ला इन्चार्ज बागमतीका पूर्वअर्थमन्त्री कैलाश ढुंगेल उम्मेदवार छन् । प्रदेशमा १ बाट पूर्वमन्त्री शान्तिप्रसाद पौडेल र २ बाट युवा नेता मिलन घिसिङ उम्मेदवार छन् ।
एकीकृत समाजवादीबाट प्रतिनिधिसभा तर्फ पूर्वसांसद देवशंकर पौडेल र प्रदेशमा १ बाट मन्थली नगरपालिकाका पूर्वमेयर रमेश बस्नेत तथा २ बाट अधिवक्ता झम्क कँडेल उम्मेदवार छन् । पार्टी उनीहरुको उम्मेदवारी फिर्ता गर्न आग्रह गरेपनि फिर्ता गरेनन् ।











