
काठमाडौं । पार्टीले गरेको अन्यायविरुद्ध नेता घनश्याम भुसालले विद्रोह गरेको र उक्त विद्रोह जायज रहेको नेकपा एमालेका नेता भीम रावलले प्रतिकृया दिएका छन् ।
पार्टीले टिकट खोसेको विषयमा राजधानीमा पत्रकार सम्मेलन गरेका रावलले पार्टीमा लामो समय योगदान गरेका नेता भुसाललाई टिकट नदिएका कारण भुसालबाट विद्रोह भएको र उक्त विद्रोह जायज रहेको प्रतिकृया दिएका हुन् ।
पार्टीमा पाँच दशक बिताएका भुसालको टिकट खोसेर निर्दलीय र निरंकुश व्यवस्था पक्षपोषण गर्ने एक मुख्य पात्रलाई टिकट दिइँदा एमालेका नेता कार्यकर्ता र नेपाली जनता खुसी नरहेको भन्दै घनश्यामको विद्रोह अन्यायविरुद्ध रहेको बताए ।
घनश्यामको विद्रोहबारे रावलले भने– ‘हिजो जुन व्यवस्थाविरुद्ध हामीले लड्यौं, जुन व्यवस्थालाई हामीले निर्दलीय र निरंकुश भन्यौ, त्यो व्यवस्थाका एउटा प्रमुख पात्रलाई उम्मेदवार बनाउँदा कुन नेकपा एमालेका कार्यकर्ता, कुन नेपाली जनताले त्यो पार्टीलाई ठीक छ भन्न सक्ला ? कसले त्यो कुरा ठीक भन्न सक्ला ? त्यस्ता अन्यायपूर्ण कुरा गरेपछि कहिलेकहीँ विद्रोह हुन्छ । घनश्याम कमरेडबाट भएको त्यही हो ।’
विद्रोह गर्ने घनश्यामको निर्णय उनकै स्वतन्त्रता रहेको भन्दै नेता रावलले पार्टीले पार्टीका लागि योगदान गरेका, देश र जनताका लागि योगदान गरेका नेता कार्यकर्ताको सम्मान गर्न नसकेको समेत बताए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका बौद्धिक नेता भुसालको टिकट खोसेर नेकपा एमालेले रुपन्देही–२ मा राप्रपाका दीपक बोहरालाई समर्थन गरेको छ ।
पार्टीले टिकट खोसेपछि भुसालले एमाले परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी पाएका छन् । सत्ता गठबन्धनले भुसाललाई सर्मथन गरेको छ । भुसालले उम्मेदवारी दिएको क्षेत्र सत्तारुढ गठबन्धनबीच भागबन्डा हुँदा नेकपा माओवादी केन्द्रको भागमा परेको थियो ।











