Logo
Logo

चित्रबहादुर केसी- तन बुढो भयो तर सत्ता अझै पुगेन


1.4k
Shares

काठमाडौं । नेपाली राजनीति पाकाहरूले ओगट्दा युवाले अवसर नपाएको भन्दै व्यापक आलोचना हुने गरेको छ । तर, पाकाहरू अझै पछि अट्ने अवस्था छैन ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८२ वर्षका भए । नेपालीको औसत आयु ७२ वर्षलाई आधार मान्दा चित्रबहादुर १० वर्ष बढि उमेरका भइसके ।

उमेरका आधारमा सरकारले दिने भत्ताकै कुरा गर्ने हो भने पनि चित्रबहादुरले वृद्धभत्ता पाउन थालेको १४ वर्ष भइसक्यो । एक वर्ष अगाडिसम्म वृद्धभत्ता पाउनका लागि ७० वर्ष पुगेको हुनुपर्ने व्यवस्थाकै कुरा गर्ने हो भने पनि १२ वर्ष भइसक्यो । तर, चित्रबहादुर भने अझै सत्ताको लोभ गरिरहेका छन् ।

८१ वर्षको उमेरमा गत साल चित्रबहादुर पुनः राजमोको अध्यक्ष निर्वाचित भएका हुन् । उनी अझै केही वर्ष राजमो  ओगट्ने पक्षमा देखिन्छन् ।

चित्रबहादुरलाई पार्टीको नेतृत्व गरेर मात्र पुगेको छैन । उनी यसपटक पनि प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका छन् । बाग्लुङ–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

लगातार १५ वर्षभन्दा धेरै समय संसद्मा उपस्थिति जनाएका चित्रबहादुरले ०७४ को निर्वाचनमा ‘बुढो भए’ भन्दै उम्मेदवारी दिएनन् । तर, पाँच वर्ष पछि झनै बुढो उमेरमा चुनावी मैदान उत्रेका छन् ।

बाग्लुङ–१ मा चित्रबहादुर सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । उनले नेकपा एमालेका सूर्यप्रसाद पाठक प्रतिस्पर्धी पाएका छन् ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट निर्वाचित सूर्यप्रसाद चित्रबहादुरका लागि बलिया प्रतिस्पर्धी हुन् । त्यसैले चित्रबहादुरलाई निर्वाचन जित्न त्यति सहज भने छैन ।

एकपटक उपप्रधानमन्त्री समेत भइसकेका चित्रबहादुरले ०५६ र ०६४ निर्वाचन जितेका हुन् । ०७० को निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट संविधानसभाको सदस्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्