Logo
Logo

संघीय गणतन्त्रविरुद्ध हुने गतिविधि रोक्न सांसदको माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ भदौं । सांसदहरुले संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न र यस्ता क्रियाकलापमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बुधबार बैठकमा उनीहरुले राजतन्त्र पुनस्र्थापनाको सपना अब कसैले नदेखे हुने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुुनुपर्नेमा जोड दिए ।
सांसद बलराम बाँस्कोटाले भने, ‘राजतन्त्र समाप्त भइसक्यो । समाप्त भएको राजतन्त्र पुनस्र्थापनाका अवाञ्छित गतिविधि गर्नेमाथि नियन्त्रण गर्नुपर्छ । यस्ता गतिविधिमा संलग्नलाई कानूनी कारवाहीसमेत गर्नुपर्छ ।’ उनले सञ्चारकर्मी रवि लामिछानेमाथिको अनुसन्धानमा बाधा पुग्नेगरी भइरहेका गतिविधि तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउँदै कोहीमाथि प्रश्न उठिसकेपछि अनुसन्धान गर्ने काम सरकारको भएको भन्दै कसैले पनि अनुसन्धानमा बाधा पु¥याउन नहुने बताए ।
त्यस्तै, सांसद धनकुमारी खतिवडाले तराई÷मधेशसहित देशका विभिन्न जिल्लामा आएको डुबान, बाढीपहिराका पीडितलाई थप राहतको व्यवस्था गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीमा गम्भीर बन्न सरकारलाई आग्रह गरेकी छन् । उनले भनिन्, ‘उदयपुरको मदनभण्डारी राजमार्गमा ४३ वटा पुल छिटो निर्माण सम्पन्न हुनुप¥यो । पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार काम हुनुप¥यो । खेतीयोग्य जमीन नष्ट हुनेतर्फ ध्यान दिनुप¥यो ।’
यस्तै, बैठकमा सांसद कालीबहादुर मल्लले समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्यलाई सबैले साथ र सहयोग दिन आग्रह गर्दै समाजिक सञ्जालले कसैलाई दोषी र निर्दाेष प्रमाणित गर्न नसक्ने बताए । उनले भने, ‘भीडतन्त्रले न्याय निरुपण गर्ने होइन, न्यायालयले न्यायको निरुपण गर्छ । संविधानको रक्षा सबैले गर्नुपर्छ ।’
सांसद सुमनराज प्याकुरेलले नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय भेटघाट तथा छलफल हुँदा कोशी सम्झौताका बारेमा कुराकानी गर्न आग्रह गरे । उनले भने, ‘भारतले कोशी सम्झौता कार्यान्वयन नगर्दा नेपाललाई असर परेको छ । अहिले सप्तरी, उदयपुरवासी रिले अनशनमा छन् । अनशनरत जनताको माग सम्बोधन हुनुपर्छ ।’ सांसद मुक्ताकुमारी यादवले देशमा आत्महत्याका प्रवृत्ति किन बढिरहेको छ, यसतर्फ अध्ययन गरी तत्काल समस्यालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन सरकारसंग माग गरिन् ।
त्यस्तै, बैठकमा सांसद कोमल ओलीले नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा जलस्रोत सम्झौता कार्यान्वयनका विषयमा नेपालले भारतसित कुराकानी गर्न सुझाव दिएकी छन् भने सांसद तारादेवी भट्टले युवाहरुलाई स्वदेशभित्र नै रोजगारीको व्यवस्था मिलाउन माग गरिन् । रासस

प्रतिक्रिया दिनुहोस्