काठमाडौं, ८ भदौ ।
चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दायर हुने भएको छ । प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

अदालतले थुनामा राख्न दिएको म्याद आज सकिने भएकाले सरकारी वकिल कार्यालयले आजै मुद्दा अदालतमा दायर गर्नुपर्ने अवस्था छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने÷नचलाउने निर्णय गर्दछ । रविसहित तीन मुद्दा चलाउने तयारी छ ।
तर, अदालतले भने आजै छोड्ने वा थुन्ने भन्ने निर्णय गर्न भ्याउन गाह्रो हुने देखिन्छ । किनकी अदालतमा तीनै जनाको बयान हुन्छ । त्यसपछि दुवै पक्षका वकिलले बहस गर्दछन् । त्यसपछि मात्र आदेश हुन्छ । तर, आजै थुनछेक आदेशका लागि अदालतमा समेत दबाब परेको छ । दिउँसो मात्र मुद्दा जाने भएकाले यो प्रक्रिया भोलिसम्मलम्बिन पनि सक्छ ।
माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल तथा रुकु कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियो रेकर्ड फेला परेको थियो ।
पर्याप्त प्रमाण बिना नै लामिछानेलाई पक्राउ गरिएको भन्दै प्रहरीको आलोचना समेत भइरहेको छ ।












