Logo
Logo

माओवादीको ठहर- गठबन्धन परिस्थितिको उपज


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको परिस्थितिको उपज भएको ठहर गरेको छ । माओवादी केन्द्रले सोमबार सार्वजनिक गरेको चुनावी प्रतिवद्धतापत्रमा संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धन गरिएको जनाएको हो ।

नयाँ संविधान घोषणा भएपछि उपर्युक्त कार्यभार पूरा गर्ने उद्देश्यलाई केन्द्र बिन्दुमा राखेर नै हामीले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा तालमेल गरिएको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

वर्तमान गठबन्धन – परिस्थितिको उपज

नयाँ संविधान घोषणा भएपछि उपर्युक्त कार्यभार पूरा गर्ने उद्देश्यलाई केन्द्र बिन्दुमा राखेर नै हामीले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा तालमेल गर्दै निर्वाचनपछि ने.क.पा.(माओवादी केन्द्र) र ने.क.पा. (एमाले) को बिचमा पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण गरेका थियौँ ।

कम्युनिस्ट एवम् वामपन्थी कार्यकर्ता तथा शुभेच्छुकहरू र नेपाली जनताको अपार समर्थन–सहयोगसहित सङ्घमा करिब दुईतिहाईको र सातमध्ये छ प्रदेशमा बहुमतको कम्युनिस्ट सरकार बनाउन सफल भएका थियौँ । त्यसले संवैधानिक एवम् शान्तिपूर्ण बाटोबाट समृद्ध नेपाल बनाउने र नयाँ मोडेलको समाजवाद निर्माणको प्रयोगलाई सफल बनाउने महान् सम्भावना र अवसर पैदा गरेको थियो । तर नेकपाका एक अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी संविधान विरोधी प्रतिगामी कदम चाल्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन गरी नेपाली कम्युनिस्ट आन्दोलनमाथि विसर्जनवादी प्रहार गनुभयो । यसले गर्दा हाम्रो पार्टीमाथि तात्कालीन रूपमा प्रतिगमन र विसर्जवादका विरुद्ध सङ्घर्ष गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी आयो। यस परिपेक्ष्यमा प्रतिगामी कदम विरुद्धको सङ्घर्षमा सामेल हुनसक्ने सबै शक्तिहरूलाई गोलबन्द गरी सङ्घर्षको नेतृत्व गर्ने दायित्व हाम्रो पार्टीको काँधमा आयो। यसै क्रममा पाँच दलीय गठबन्धन बन्न पुगेको हो।

जनता समाजवादी पार्टीले गठबन्धन परित्याग गर्ने निर्णय गरेपछि अहिले गठबन्धन चारदलीय हुन पुगेको छ । प्रतिगमन विरोधी सङ्घर्षको क्रममा जन्मेको गठबन्धन अहिले आसन्न चुनावमा पनि तालमेल गर्ने निर्णयसहित अघि बढेको छ । यो गठबन्धन र तालमेल तात्कालिक परिस्थितीको उपज हो।

वर्तमान परिस्थितीमा ने.क.पा. (माओवादी केन्द्र) संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धन र चुनावी तालमेललाई सफल बनाउन केन्द्रित हुनेछ । निर्वाचन प्रक्रिया सुरु भैसकेको परिप्रेक्ष्यमा वर्तमान गठबन्धन र तालमेललाई सफल बनाउन र पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत गठबन्धनका उम्मेदवारहरूलाई र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ने.क.पा. (माओवादी केन्द्र) लाई मतदान गर्न हाम्रो पार्टी आदरणीय जनमुदायसँग विनम्र अपिल गर्दछ ।

प्रतिक्रिया दिनुहोस्