
१. निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक, नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा सरकारी साधन प्रयोग गर्न नपाउने, मन्त्रीले आयोगको सहमति लिई सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन पाउने ।

२. संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने अभिव्यक्ति, मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको ठहर ।

३. सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने गृहमन्त्री बालकृष्ण खाणको विश्वास, स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैका सहयोगमा शान्तिपूर्ण हुने भनाइ, नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको अभिव्यक्ति ।

४. आगामी निर्वाचन आफ्नो पार्टीलाई नजिताए दुर्भाग्य भोग्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, यसपटक एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने चेतावनी, सत्ता गठबन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर, विकासको मुल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमालेले गर्ने दाबी ।

५. ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेकपा माओवादी केन्द्रका उम्मेदवार बिना मगरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरको आयोगको भनाइ, २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन ।

६. नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेका वकिलद्वारा पीडित नाबालिग नभएको प्रमाण अदालतमा पेश, पीडित भनिएकी र अभियोग लागेका सन्दीप दुवैजनाको बयान इजलासमा सकिएपछि कानुन व्यवसायी मुरारी सापकोटाद्वारा उक्त प्रमाण पेश, पीडित भनिएकी किशोरीको जन्म २०६१ असार १८ गते भएको दाबी ।

७. अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको जर्मनीका आर्थिक सहयोग र विकास मन्त्रालयका संसदीय राज्यमन्त्री वारवेल कोफलरको टोलीबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध, आपसी हित र सहयोगका विविध क्षेत्रबारे गहन छलफल, नेपाललाई सहायता प्रदान गर्ने मुलुकको सूचीमा पुनः आबद्ध गर्ने घोषणा, पूर्वाधार निर्माण, कृषि र उद्योगका क्षेत्रमा पनि सहयोगको गर्ने नेपालको अपेक्षा ।

८. धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकका साथै कारोबार रकमसमेत बढ्यो, नेप्से परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर एक हजार नौ सय ३८ दशमलव ३० कायम, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्सस शून्य दशमलव ७९ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ९४ मा पुग्यो ।

९.प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशको लगातार दोस्रो जित, कर्णाली प्रदेशलाई ३२ रनले पराजित, २ सय ९ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४७ ओभरमा १ सय ७६ रनमा अल आउट, बागमती प्रदेशलाई ८ विकेटले हराउँदै लुम्बिनी प्रदेशको विजयी सुरुवात ।

१०् सन् १९४७ मा भारत स्वतन्त्र भएयता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार, भारतको सबैभन्दा भरपर्दो साझेदारमा रुस ४३ प्रतिशत, जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभावका साथै उग्र गर्मीको लहरको उच्च जोखिम, चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता ।













