काठमाडौं, १३ भदौ ।
गत वर्ष सरकारलाई नै बदनाम गराउने घटना कञ्चनपुरको निर्मला पन्त प्रकरण थियो । स्थानीय प्रशासन कमजोर हुँदा सो प्रकरणले सरकार नै बदना भयो ।
कञ्चनपुरका तत्कालिन सिडिओ कुमार खड्का र एसपी दिल्लीराज बिष्टको कमजोरीले त्यस्तो बदनामी भएको थियो । तत्कालिन एसपी बिष्टलाई सरकारले सेवाबाट नै बर्खास्त गरिसकेको छ । तर, सिडिओ खड्कालाई भने पुरस्कृत गरिएको छ । बिहीबार उनलाई निकै संवेदनशील जिल्ला बाँकेको सिडिओ बनाएर खटाइएको छ ।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका वेला खड्का कञ्चनपुरमा थिए । कारबाही स्वरूप गृहले उनलाई त्यहाँबाट हटाएको थियो । त्यसयता उनी त्रिवि अध्यागमन कार्यालयका प्रमुख थिए । अन्य इमान्दार र सक्षम सहसचिवलाई पाखा लगाएर खड्कालाई बाँकेको सिडिओ बनाइएकोमा धेरैले आश्चर्य मानेका छन् ।

गृह मन्त्रालयले बिहीबार २२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको थियो । सरुवा अनुसार काठमाडौं सिडिओ रामकुमार आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ भने झापामा कार्यरत सिडिओ जनकराज दाहाललाई काठमाडौंको जिम्मेवारी दिइएको छ । धादिङमा कार्यरत भागीरथ पाण्डेयको ललितपुर, ललितपुरका प्रेमराज जोशीको मकवानपुर र धनकुटाका सीताराम कार्कीको इलाम सरुवा भएको छ । काभ्रेका उदयबहादुर रानाको झापा, बाँकेका मदन भुजेलको मोरङ, बाराका राजेश पौडेलको सुनसरी र सुर्खेतका फणीन्द्रमणि पोखरेलको बारामा सरुवा भएको छ । त्यस्तै, मकवानपुरका आशमान तामाङको धादिङमा र गृह मन्त्रालयमा कार्यरत सहसचिव महादेव पन्थको रूपन्देहीमा सरुवा भएको छ ।
गृह मन्त्रालयमा कार्यरत सहसचिव वसन्त अधिकारीलाई सुर्खेत, दीर्घनारायण पौडेललाई विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ । मोरङका सिडिओ रमेश केसीको कास्कीमा सरुवा भएको छ ।












