मङ्गलबारे । चुनावको दिन नजिकिएसँगै उम्मेदवारहरू अन्तिम कसरतमा जुटेका छन् । उम्मेदवारहरू अहिले घरदैलो र आमसभामार्फत जनताको मन जित्नेतिर लागेका छन् ।

इलाममा दुई ठूला ‘हेभिवेट’ मानिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही जिल्लाबाट उम्मेदवारी दिएका कारण यस पटकको निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ ।
यहाँ हुने निर्वाचनमा दुई ठूला उम्मेदवारसँग प्रतिस्पर्धामा लागि दुई पार्टीका जिल्ला सभापतिले नै टक्कर दिने संकेत देखिएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्षसमेत यसै जिल्लाबाट निर्वाचनमा उठेका छन् ।
पूर्वप्रधानमन्त्री खनालले यस पटक लोकतान्त्रिक–वाम गठबन्धनको साथमा नेकपा (एकीकृत समाजवादी) बाट इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनीसँग नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेत भिड्दै छन् । सातौँ पटक सोही निर्वाचन क्षेत्रबाट उठेका खनाल छैटौँ जितको खोजीमा छन् ।
एक पटक नेपाली कांग्रेसका उम्मेदवार बेनुपराज प्रसाईंसँग पराजित भएका उनी यस पटक आफ्नै पूर्वसहकर्मीसँग निर्वाचन लड्दै छन् । खनालसँग उनकै चेलो मानिने बस्नेत दुई कार्यकाल इलाम नगरपालिकाको प्रमुख भइसकेका छन् ।
खनालले यस पटक आफ्नो प्रतिस्पर्धा नै नहुने भन्दै आफ्नो जित निश्चित भएको दाबी गरेका छन् । उनले एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका गठबन्धन दलबाट आउने मतले आफ्नो जित सुनिश्चित रहेको बताए ।
यता प्रतिस्पर्धी बस्नेतले भने पाका उम्मेदवारलाई सम्मानसहित नयाँ उम्मेदवारले जित्ने दाबी गरेका छन् । उनीहरु दुवैले इलाम क्षेत्र नम्बर १ का जनतामाझ घरदैलो गरिरहेका छन् ।
दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको इलामको क्षेत्र नम्बर २ मा समेत प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । यहाँ पूर्वसभामुख नेम्वाङसँग नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का चुनावी प्रतिस्पर्धीका रूपमा छन् । खड्कालाई सत्ता गठबन्धन दलहरूको साथ रहेको छ ।
नेम्वाङ यस पटक पनि यही क्षेत्रबाट चुनाव लड्दै छन् । यसअघि चार पटक यही क्षेत्रबाट निर्वाचित रहेका उनी यस पटक पनि जितका लागि कसरत गरिरहेका छन् ।
समाज सेवामा चर्चा कमाएका कांग्रेस जिल्ला सभापतिसँगको प्रतिस्पर्धा नेम्वाङका लागि निकै कडारूपमा लिइएको छ । नेम्वाङले निर्वाचन घोषणा भएपछि खासै आफ्नो क्षेत्र नछोडी घुमिरहेका छन् । उनले संविधान जारी गर्दा आफ्नो पहल र प्रयास भएको र यहाँका जनताको शिर झुक्न नदिने भन्दै आफूलाई जिताउन आग्रह गर्दै आएका छन् ।














