काठमाडौं । महोत्तरीमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।

स्थानीयका अनुसार एमाले कार्यकर्ताको कुटाइबाट पाँच जना घाइते भएका छन् । घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् ।
उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ । एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए ।
माओवादीले भने घटनाको भत्सर्ना गरेको छ । माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको भन्दै दोषीउपर छानबिन गरि कारबाही गर्न माग गरेका छन् ।














