Logo
Logo

किन धरापमा परे पूर्वगृहमन्त्रीहरू ?



काठमाडौं । मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछि गृहमन्त्रीलाई सबैभन्दा शक्तिशाली मानिन्छ । सबै जिल्लामा सिडिओ मातहतमा हुने, देशका सुरक्षा निकाय चलाउने र गोप्य सूचनाहरू तत्कालै प्राप्त हुने भएकाले गृहमन्त्री अन्य मन्त्रीभन्दा स्वभाविक रुपमा शक्तिशाली हुन्छन् ।

सामान्यतया पार्टीका सिनियर नेतालाई गृहको जिम्मा दिइने भएकाले उनीहरुलाई भावी प्रधानमन्त्रीको रुपमा समेत हेरिन्छ । तर, नेपालमा पछिल्लो समय गृहमन्त्री बनेका नेताहरुको राजनीतिक यात्रा भने ओरालो लागेको देखिन्छ ।

हालै सम्पन्न निर्वाचनले पनि त्यसको संकेत गरेको छ । यो निर्वाचनमा बहालवाला तथा पूर्वगृह मन्त्रीहरुले पराजय भोगेको छन् । गृहमन्त्री हुँदा गृह प्रशासन तथा प्रहरी संगठनलाई बलियो बनाउने भन्दा राजनीतिकरण गरेर व्यक्तिगत फाइदा उठाउन केन्द्रीत हुँदा निर्वाचनबाट पूर्व गृहमन्त्रीहरुले त्यसको सजाय भोगिरहेका छन् ।

किन पराजित भए बालकृष्ण खाँण ?
पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुँदा पनि गृहमन्त्री बालकृष्ण खाँणले यसपटक चुनाव जित्न सकेनन् । दुई हजार ६ सय ८१ मतान्तरले उनी राप्रपाका दीपक बोहरासँग पराजित हुन पुगे । बोहराले ३६ हजार ७ सय १७ मत ल्याउँदा खाँणले ३४ हजार ३६ मत मात्र प्राप्त गरे ।

चुनाव जित्नका लागि खाँणले धेरै नै मेहनत गरेका थिए । केही महिनायता हरेक हप्ता जसो उनी निर्वाचन क्षेत्रमा खट्दै आएका थिए । पछिल्लो एक महिना त मन्त्रालय नै छाडेर चुनाव क्षेत्रमा खटिएका थिए ।

सिंगो प्रहरी प्रशासन उनकै हातमा थियो । आफु निकटस्थ एसपी रबिन्द्र रेग्मीलाई रुपन्देहीमा खटाएका थिए । सशस्त्र प्रहरीमा पनि विश्वासपात्रहरुलाई जिल्लामा परिचालन गरेका थिए । सत्ताको आडमा अन्य पार्टीका कार्यकर्ता केही कांग्रेसमा प्रवेश पनि गराए । तैपनि उनी जित्न सकेनन् । उनीमाथि कांग्रेसबाटै अन्तर्घात भयो ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ल्याएको मतले पनि त्यो प्रष्ट हुन्छ । स्वतन्त्र पार्टीका उम्मेदवार जितबहादुर गुप्ता तेली यो क्षेत्रमा तेस्रो हुँदै ५ हजार ७ सय ९७ मत ल्याएका थिए ।

अर्काेतर्फ रुपन्देहीका पुराना राजनीतिक खेलाडी बोहराले आफ्नो मत कायम राख्न सफल भए । बोहरालाई जिताउन एमालेले पनि साथ दिएको थियो । एमाले–राप्रपा गठबन्धन र कांग्रेसकै एकथरिले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट हाले ।

गृहमन्त्रीका रुपमा उनको १६ महिना खासै राम्रो हुन सकेन । प्रहरीमा चरम राजनीतिकरण भयो । विचौलिया प्रयोग गरी प्रहरी मात्र होइन कैदीको सरुवामा समेत गृह सचिवालयले पैसा उठायो । प्रहरीका इमान्दार अधिकृतहरु पाखा लगाइए । सरुवा–बढुवामा अत्याधिक आर्थिक चलखेल हुँदा संगठनमा बेथिती मौलाएको छ ।

सिडिओ सरुवामा पनि चरम राजनीतिकरण भएको छ । अध्यागमनका अधिकृतहरु सरुवामा समेत अत्याधिक चलखेल भयो । जसकारण अध्यागमन भिजिट भिसामा सेटिङको अखडा बन्न पुग्यो । गृह मन्त्रालयमा खाणले सुधारका कुनै काममा ध्यान दिएनन् ।

नेताहरुका सिफारिसमा प्रहरी र कर्मचारीको सरुवामै उनको ध्यान केन्द्रित भयो । जसकारण उनको राम्रो छवि बन्न सकेन । उनको हारमा धेरै प्रहरी अधिकारीहरुले भने खुशी व्यक्त गरेका छन् । किनकि उनको नेतृत्वबाट धेरै इमान्दार प्रहरी अधिकृतमाथि अन्याय भएको थियो ।

सबै पूर्वगृहमन्त्रीको राजनीति ओरालोमा
यो निर्वाचनमा चार पूर्व गृहमन्त्री पराजित भए । कृष्ण प्रसाद सिटौला, कमल थापा, देवेन्द्रराज कँडेल लगायत पूर्वगृहमन्त्रीहरु पराजित भएका छन् । संयोग बहालवाला तथा पूर्व गृहमन्त्रीहरु राप्रपाका उम्मेदवारबाट पराजित भएका छन् ।

सिटौलालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पराजित गरे । अघिल्लो चुनावमा पनि सिटौला उनी लिङदेनसँग नै हारेका थिए । २०६२–६३ पछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको सर्वदलीय सरकारमा सिटौला गृहमन्त्री थिए । २०६४ सालमा उनकै नेतृत्वमा चुनाव भएको थियो । जून चुनावमा उनी आफैं पराजित भएका थिए । त्यसयता उनको राजनीतिक निरन्तर ओरालो लागेको छ । नेपाली कांग्रेसभित्र उनको गुट पनि निकै कमजोर भइसकेको छ ।

त्यस्तै, पूर्वगृहमन्त्री कमल थापा आफ्नै पूर्व सहकर्मीबाट यसपटक पराजित भए । मकवानपुर क्षेत्र नम्बर १ मा सूर्य चुनाव चिन्हबाट लडेका उनी राप्रपाका दीपक सिंहसँग पराजित भएका हुन् । थापा २०६२–६३ को जनआन्दोलनमा गृहमन्त्री थिए ।

जनआन्दोलन दबाउने नेतृत्व गरेका उनी अहिले राजपरिवारलाई गाली गरेर राजनीतिमा सक्रिय हुने प्रयासमा छन् । राप्रपामा अध्यक्षमा पराजित भएपछि राजा ज्ञानेन्द्रलाई उनले त्यसको दोष दिएर नयाँ पार्टी गठन गरेका थिए । उनको पार्टी त पत्तासाफ भयो नै एमालेको चुनाव चिन्हबाट लड्दा समेत चुनाव जित्न सकेनन् । अब थापाको राजनीतिमा पूर्णविराम लाग्ने छ ।

त्यस्तै, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल पनि यसपटक पराजित भएका छन् । पश्चिम नवलपरासी २ मा राप्रपाकै उम्मेदवार धुव्रबहादुर प्रधानबाट उनी पराजित भएका छन् । प्रधान पूर्वप्रहरी महानिरीक्षक हुन् । यसअघि प्रधान कँडेलसँगै पराजित भएका थिए । १५ हजार एक सय ७० मतान्तरले उनले कँडेललाई हराएका छन् । पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा प्रधानले ३४ हजार सात सय ६४ मत ल्याउँदा कँडेलले १९ हजार पाँच सय ९४ मत मात्र पाए ।

प्रहरी सेवाबाट राजीनामा दिएपछि राजनीतिमा लागेका प्रधान करिब २५ वर्षपछि संसद पुग्ने अवसर पाए । २०५६ मा उनी कँडेलसँगै पराजित भएका थिए । २०७४ को निर्वाचनमा उनी राप्रपाको समानुपातिकतर्फ पहिलो नम्बरमा परेका थिए । तर, पार्टीले थ्रेसहोल्ड कटाउन नसक्दा उनको संसद छिर्ने सपना अधुरै रहेको थियो । यसपटक उनी सफल भएका छन् ।

पूर्व गृहमन्त्रीहरुको स्वभाविक रुपमा प्रहरीसँग निकट सम्बन्ध हुन्छ । त्यस आधारमा चुनावमा उनीहरुलाई सहज हुने ठानिन्छ । तर, चुनावमा प्रहरीको ठूलो भूमिका हुन्न । मन्त्रीले राम्रो काम नगरेसम्म प्रहरी मात्र हात लिएर चुनाव जितिन्छ भन्ने कुरालाई पछिल्ला निर्वाचनले गलत सावित गरिदिएका छन् ।

पूर्वगृहमन्त्री विमलेन्द्र निधि, कृष्णबहादुर महरालगायतले पनि गृह मन्त्रालय सम्हालेपछि आफ्नो शक्ति बढाए तर कद घटाएका थिए । त्यसपछि उनीहरु राजनीतिको किनारामा परेका छन् । न त उनीहरुले प्रहरीबाट सम्मान पाउन सके न त जनताको माया नै ।

प्रतिक्रिया दिनुहोस्