Logo
Logo

छिट्टै नेपाल भ्रमणमा आउनेछुः मोदी


- दृष्टि न्युज/संवाददाता


काठमाण्डौ, २४ जेठ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू छिट्टै नेपालको भ्रमणमा आउने बताएका छन् ।
अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सिङमार्फत मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै मोदीले नेपाल भ्रमणमा आउन आफू पनि आतुर रहेकाले समय मिलाएर छिट्टै नेपाल भ्रमणमा आउने बताएका हुन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल भ्रमणमा आउने आफ्नो पनि इच्छा रहेको बताएका हुन् ।

प्रधानमन्त्री मोदीले भने, ‘तपाईँले मलाई फेरि एक पटक नेपाल भ्रमणमा आउन निमन्त्रणा दिनुभएको छ । मैले यो कुरालाई निकै महत्वपूर्ण लिएको छु । नेपाल भ्रमणमा आउने मेरो पनि धेरै इच्छा छ ।’ नेपालको प्राथमिकताका अनुसार नेपालको विकासमा सहयोगका लागि भारत सधैँ प्रतिबद्ध रहेको पनि उनको भनाई छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको बताउँदै यसले क्षेत्रीय ऊर्जा सुरक्षामा सहयोग पुर्याउने मोदीको भनाई छ ।

प्रधानमन्त्री केपी ओलीले भिडियो लिङ्कमार्फत आफूसँग जोडिन समय निकालेकोमा खुसी पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै ओलीको सक्रियता निरन्तर नेपाल भारतबीचको सम्बन्धलाई जोड्न अघि बढोस भन्ने शुभकामना पनि मोदीले दिएका छन् । उनले भने ‘म हमेसा तपाईँको उत्तम स्वास्थ्य, अभुतपूर्व सक्रियता र भारत नेपालको सम्बन्ध अझ बाबजुद बनाउनका लागि हर प्रकारले बहुत बहुत सुभकामना व्यक्त गर्दछु ।’

साथै प्रधानमन्त्री मोदीले मन्तव्य टुंग्याउँदै नेपाली भाषामा नै धेरै धेरै धन्यवाद भन्न पनि भ्याए । उनले भने, ‘नेपाल भ्रमणमा आउने मेरो पनि धेरै इच्छा छ, प्रकृतिको काखमा म छिट्टै आउने प्रयास गर्ने छु । तपाईँहरु सबैलाई धेरै धेरै धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्