Logo
Logo

कोशी अस्पतालमा ५०० शैयाको अत्याधुनिक भवन बन्ने


882
Shares

विराटनगर । विराटनगरको कोशी अस्पतालमा ५०० शैयाको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पताल परिसरमा विहीबार आयोजित एक कार्यक्रमबीच सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

कार्यक्रममा बोल्दै सहरीमन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माण कार्य सक्न निर्देशन दिएका छन् ।

कोशी अस्पतालको उन्नतीले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुग्ने बताउँदै मन्त्री चौधरीले भने, ‘स्वास्थ्य क्षेत्र भन्नेबित्तिकै भौतिक निर्माण मात्रै या आधुनिक स्वास्थ्य उपकरणको सजिसजाउ मात्र होइन, स्वाथ्यकर्मीको व्यवहार पनि हो । स्वास्थ्यकर्मीलाई विरामीले भगवान ठान्ने गर्छन् । तसर्थ उहाँहरुले विरामीसँग राम्रो व्यबहार, मिठो बोली बचन गर्नु जरुरी छ ।’

संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका आयोजना प्रमुख गणेशबहादुर महर्जनले भवन सुविधासम्पन्न र अत्याधुनिक हुने बताए । ‘दुई तल्ले बेसमेन्टसहित भवन आठ तल्ले हुनेछ । ३ वटा इमर्जेन्सी भर्याङ, बेड लिफ्ट, डक्टर तथा सेवा ग्राहीका लागि छुट्टाछुट्टै लिफ्ट, वातावरणमैत्री कोठाहरु, कुरुवा कक्ष, भुकम्प प्रतिरोधी भवन बन्नेछ’ आयोजना प्रमुख महर्जनको भनाइ थियो ।

३ वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको उक्त भवनको कुल लागत रु. २,१७,६९,९२,०० (मु.अ.करबाहेक) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्