काठमाडौं, २७ भदौ ।
सिडिओहरु यती शक्तिशाली हुँदै गएका छन् कि आफ्नो लागि कानून नै परिवर्तन गर्न समेत थालेका छन् । सहसचिव हुने जिल्लामा सिडिओ भएका सात जना उपसचिवले ती जिल्लामा उपसचिव नै सिडिओ राख्ने भनेर मन्त्रिपरिषदठ निर्णय गराएका छन् ।

गोरखा, कञ्चनपुर, सर्लाही, रौतहट, धनकुटा, पाल्पा र काभ्रेपलाञ्चोक गरी ७ जिल्लामा राजपत्रांकित प्रथम श्रेणी अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद रहेकामा राजपत्रांकित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा) को पदपूर्ति भएको अवस्थामा सोही बमोजिम हुने गरी हाललाई राजपत्रांकित द्वितिय श्रेणीको प्रमुख जिल्ला अधिकारीको पद कायम गर्ने भनेर निर्णय गरिएको सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी गराए ।
ती जिल्लाहरुमा उपसचिवलाई कामु सिडिओ बनाएर खटाइएको छ । कामु सिडिओ ६ महिनाभन्दा लामो समय राख्न नमिल्ने भएपछि यसरी व्यक्तिका लागि दरबन्दी नै कटौती गरिएको हो ।
धनकुटामा उपसचिव डा कृष्ण प्रसाद घिमिरे, सप्तरीमा सुनिल खनाल, महोत्तरीमा सूर्यबहादुर खत्री, काभ्रेमा श्रवण कुमार तिमल्सिना र पाल्पामा उमेश कुमार ढकाललाई कामु सिडिओका रुपमा खटाइएको छ । हाल करिब दुई दर्जन जिल्लामा उपसचिवलाई कामु बनाएर सहसचिव हुने जिल्लामा खटाइएको छ । उपसचिवहरुको चलखेलका कारण गृहमा यस्तो विकृती भएको हो ।











