
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी–२० लिगका कमेन्टेटर सचिन तिमल्सेनाले लिग छाडेका छन् । लिगका सुरुवाती दश दिन कमेन्ट्री गरेका उनले ‘स्पट फिक्सिङ’ भएको आशंका गर्दै लिग छाडेको बताएका हुन् ।
सुरूदेखि नै विवादमा परेको लिगलाई नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको थियो । दोस्रो चरणको खेल चलिरहँदा उनले लिग फिक्सरको हातमा गएको सामाजिक सञ्जालमार्फत दाबी गरेका छन् ।
उनले फेसबुकमा भिडियो पोस्ट गर्दै भनेका छन्, ‘कतिपय घटना गर्दा यो लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ । आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ । नतिजामा असर गर्दैन । तर खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन तपाईंलाई पहिले नै गर्न भनिएको हुन्छ ।’
फिक्सिङका लागि कतिपय विदेशी खेलाडी प्रयोग गरिएको समेत उनको दाबी छ । जारी टी-२० लिगमा ६ टिमको सहभागिता छ । लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स र फार वेस्ट युनाइटेडले भाग लिएको लिगमा अहिले दोस्रो चरणका खेल भइरहेका छन् ।












