
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारमा सहभागी हुने या नहुनेबारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ ।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्न नसकेकाले सचिवालयलाई निर्णय गर्ने अधिकार दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकपछि प्रवक्ता खतिवडाले भने– ‘सरकारमा सहभागी हुनेबारे पोलिटब्युरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने अधिकार दिएको छ । केन्द्रीय सचिवालयले आवश्यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ ।’
एकीकृत समाजवादीले यसअघि स्थायी कमिटीमा पनि सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा विस्तृत छलफल गरेको थियो । तर, स्थायी र पोलिटब्युरो दुवैले यसबारे निर्णय गर्न नसकेको हो ।
स्थायी कमिटी र पोलिटब्युरो दुवै कमिटीका बहुमत सदस्य सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेका छन् ।












