काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । मंगलबार सकिएको राजनीतिक समितिको बैठकमा बहुसंख्यक नेताहरू सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरू समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने उसको निर्णय छ । त्यस्तै, बैठकले विभिन्न दल तथा संगठनसंग एकता तथा गठबन्धन सम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ ।
बैठकले चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । चुनावमा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेहरूलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ ।












