Logo
Logo

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गर्भनरसँग छलफल


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा देशको वर्तमान अर्थतन्त्रको अवस्था र बैंकिङ क्षेत्रमा देखिएका समस्याबारे प्रधानमन्त्री प्रचण्डले चासो राखेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या र चुनौतीहरूलाई तत्काल कसरी सुधार गर्न सकिन्छ, त्यसबारे ध्यान दिन आवश्यक रहेको बताएका थिए ।

साथै, प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर घटाउन तथा मौद्रिक नीतिमा सुधारबारे आवश्यक पहलकदमी गर्न जोड दिएका छन् । उनले अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताए ।

निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न लागेको भन्दै तत्काल सुधारका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायतले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेटवार्ता गरी ब्याजदरमा स्थिरता प्रदान गर्न, पूँजीगत खर्च बढाउन अनुरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्