काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बृहत बाम एकताको पहल गर्नका लागि पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले सो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा सो समिति गठन भएको हो । समितिमा महासचिव देव प्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणी पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहने निर्णय भएको प्रवक्ता महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, आज बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारका प्रधानमन्त्रीलाई पुस २६ गते विश्वासको मत दिन सबै दल तथा स्वतन्त्र सांसदहरूलाई पार्टीको तर्फबाट आह्वान समेत गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पौष २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यतालिका रहे बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत प्रदान गर्नका लागि प्रतिनिधि सभामा रहेका सम्पूर्ण दल तथा स्वतन्त्र सांसदहरूलाई पार्टीका तर्फबाट आव्हान गर्ने निर्णय गरियो।’













