Logo
Logo

चिनियाँ राष्ट्रपति चढ्ने तीन बुलेटप्रुफ गाडी काठमाडौंमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज ।
नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नै गाडी चढ्ने भएका छन् । उनका लागि गाडी नेपाल ल्याइसकिएको छ ।
सी विदेश भ्रमणमा सामान्यतया आफ्नै गाडी चढ्छन् । शुक्रबार भारत जान लागेकामा त्यहाँ पनि चीनबाटै गाडी लगिएको छ । सुरक्षाका कारण उनले आफ्नै गाडी चढ्ने गरेका हुन् । उनीसँगै आउने अन्य चिनियाँ अधिकारीका लागि भने परराष्ट्र र रक्षा मन्त्रालयले गाडीको बन्दोबस्त गरिसकेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने भएको छ । पाँच अति विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी सेनाको हुने प्रचलनअनुसार सीको भ्रमणमा पनि नेपाली सेनाबाटै पिएसओ खटिनेछन् । सेनाकै नेतृत्वमा सुरक्षा योजना बनिरहेको छ । यद्यपि, राष्ट्रपति सीको पहिलो भित्री घेरामा भने चिनियाँ सेना नै हुनेछ ।

राष्ट्रपति सी सोल्टी होटेलमा बस्नेछन् । उनको सवारी रुटमा सेनाको हेलिकोप्टरले समेत स्कर्टिङ गर्नेछ । सीको सवारीका क्रममा कम्तीमा आधा घन्टा सडक खाली गराइनेछ । सवारी रुटमा पर्ने अग्ला घरहरूमा सुरक्षाकर्मी बस्नेछन् । त्यस्तै उनको रुटमा सिसिटिभीको कभरेज हुनेछ । काठमाडौंका अन्य सडकमा जोडिएका सिसिटिभीसमेत सोही रुटमा सारिएको छ ।

सीको भ्रमणलाई लक्षित गरी उपत्यकामा एक हजार आठ सय प्रहरी थप गरिएको छ । सातै प्रदेशबाट थप मद्दतका लागि प्रहरी झिकाइएको हो । थप मद्दतका लागि झिकाइएका प्रहरी बिहीबारदेखि नै परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनीहरूलाई सीको रुटमा खटाइनेछ । विमानस्थलदेखि सोल्टी होटेलसम्मको सडकमा ती सुरक्षाकर्मी खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्