काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा शीर्ष स्थानको स्कटल्याण्डमाथि सानदार जित निकालेको छ ।
आज (शुक्रबार) टियु मैदानमा भएको खेलमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ नेपालले स्कटल्याण्डलाई तीन विकेटले हरायो । दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए ।

कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो ।
नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो ।
लिग– २ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ ।
त्यस्तै तेस्रो स्थानको नामिबियाको ३७ अंक छ भने चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ । नेपाल भने छैटौं स्थानमा छ । नेपालले लिग–२ मा आफ्ना १० खेल खेल्न बाँकी छदा २६ खेलबाट २२ अंक जोडेको छ ।
नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ । पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ ।
लिग–२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् । बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।














