
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा अब नयाँ गठबन्धनबाट सरकार बन्ने बताएका छन्।
महामन्त्री थापाले गत पुस १० को गठबन्धन भत्किएकोले अब मंसिर ४ मा सम्पन्न चुनावकै बेलाको गठबन्धनबाट सबैतिर सरकार बन्ने बताएका हुन् ।
‘केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्छ,’ काठमाडौंमा आज बिहान भएको एक कार्यक्रममा बोल्दै थापाले भने, ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ। अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो।’
उनले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने बताए।
‘दुई महिनापछि हामी एक ठाउँमा उभिएका छौं। यो हुनैपर्थ्यो। जे भएको छ राम्रो भएको छ तर अब हाम्रो अगाडिका बाटो सहज छैन। काम गर्नुपर्छ, काम गर्न सकिएन भने कसैलाई दोष दिने ठाउँ पनि बाँकी रहँदैन,’ उनले भने। उनले गठबन्धन बलियो बनाउँदै ५ वर्षसम्म टिकाउन सबै लाग्नुपर्ने बताए।











