पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पल शाहलाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ ।

न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।
उच्च अदालतले यौन दुर्व्यवहारलाई सामन्यिकरण गरेको भन्दै उच्च अदालत पोखराको प्रवेशद्धारमा केही युवायुववती भेला भएर प्रदर्शन गरेका थिए ।
एक नाबालिगले अघिल्लो फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहले बलात्कार गरेको भन्दै शाहविरुद्ध उजुरी दिएका थिए ।
उजुरीपछि शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मासमर्पण गरेका थिए । नवलपुरमा पनि सोही मुद्दामा एकै व्यक्तिले उजुरी दिएकी थिइन् । नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिँदै भदौ २१ गते बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
दुवै पक्षले नवलपुर अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । माघ ३ गते तनहुँ अदालतले भने शाहलाई सफाइ दिइसकेको छ ।










