काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले ८ दलको समर्थनमा उम्मेदवार भएका रामचन्द्र पौडेल नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन् । पौडेल राष्ट्रपति विजयी हुने र त्यसपछि उनी नेपाली कांग्रेसबाट अलग हुनुपर्ने उनले बताए ।

महामन्त्री थापाले भने, ‘रामचन्द्र पौडेल कांग्रेसको भएपनि सबैको साझा उम्मेदवार हुन् । राष्ट्रपति निर्वाचित भएपछि उहाँ देशको राष्ट्र प्रमुख हुनेछन् ।’
शुक्रबार बागमती प्रदेशसभा सदस्यहरूसँग काठमाडौंमा भएको अभिमुखीकरणमा थापाले भने, ‘नागरिकहरू सबैले राष्ट्रपति हो भन्ने भूमिकामा पौडेलले न्याय गर्नुहुन्छ भन्ने विश्वास छ ।’
उनले यस पटक राष्ट्रपति निर्वाचनमा हस्ताक्षर नहुने समेत बताए । थापाले भने, ‘यसपटक हामी हस्ताक्षर गर्दैनौं । हरियो चिन्ह संघको, रातो चिन्ह प्रदेशको । २ जना राष्ट्रपति उम्मेदवारको फोटो भएको मतपत्रमा माथि रामचन्द्र पौडेलको नाम छ । तल सुवास नेम्वङको नाम छ । फोटो भएको ठाउँमा खाली कोठामा स्वस्तिक चिन्ह छाप लगाउने हो ।’
उनले यस्तो अवस्थामा पनि सांसदको भोट बदर भयो भने लाज हुने बताए । भोट क्रस नहुने समेत उनले दावी गरे । महामन्त्री थपाले भने, ‘भोट तलमाथि हुन्छ भन्ने लाग्दैन । मतभार हिसाब भइहाल्छ । पहिले नै हामीलाई रिजल्ट थाहा हुन्छ, तलमाथि भए लज्जा हुन्छ ।’










