
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थमा अल्झिएका तथा सामाजिक रूपान्तरण र परिवर्तनका विरोधी शक्तिहरूले सत्ता कब्जा गर्न सफल भएको बताएका छन् ।
आज (शनिबार) भक्तपुरमा पार्टी निकट बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा क्षुद्र स्वार्थमा अल्झिएर बनेको गठबन्धनले सत्ता कब्जा गर्न सफल भएको बताएका हुन् ।
देशको अहितमा जनविरोधी र राष्ट्रघाती तत्त्वहरूको चर्को आवाज आउन थालेकाले त्यसबाट जनतालाई मुक्त गर्न सक्नुपर्ने उनले बताए । ‘दुर्भाग्यको कुरा देशका लागि एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार हुन खोज्छ । यथार्थ त्यही हो’, पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘किनभने सामाजिक रूपान्तरण परिवर्तनका विरोधी शक्तिहरू आफ्ना क्षुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल छन् अहिले पनि ।’
अध्यक्ष ओलीले उनीहरू नै जनता अलमल्याउन र चटके कुरा गर्न सफल भएको भन्दै बौद्धिक जगत्ले दिग्भ्रमित पार्ने शक्तिहरूबाट जनतालाई मुक्त गर्न बिगुल फुक्ने काम गर्नुपर्ने बताए । इतिहास निर्माणका प्रेरक शक्ति हिजो, आज र भोलि पनि जनता नै भएको भन्दै जनतालाई सही मार्गदर्शन गर्न सक्नु अहिलेको चुनौती रहेको ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले विरोधी जमातले सङ्गठित र सक्रिय ढङ्गले सामाजिक सञ्जालबाट एकै पटक आक्रमण गर्न सक्ने भए पनि त्यसबाट नआत्तिन आग्रह गरे ।










