काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका दुई महिला पाइलटले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई) भरेका हुन् ।
पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले आइतबार काठमाडौँ–दुबईका लागि अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

‘पाइलटद्वय भावना पन्त र सिर्जना गिरीले पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्नुभएको हो, निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो, आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ, तर, अन्तर्राष्ट्रियमा यो पहिलो हो’, उनले भनिन् ।
निगमका अनुसार दुई महिला पाइलटले निगमको एयरबस ए–३२० जहाज शनिबार राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए । उनीहरू दुबईबाट यात्रु लिएर बुधबार बिहान काठमाडौँ फर्कने उडान तालिका रहेको छ ।
बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पूर्ण चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा चारजना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट छन् ।











