काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेको तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्वाङबीच भेटवार्ता भएको छ । नेम्वाङले आज (सोमबार) देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा यही २५ गते हुने राष्ट्रपति निर्वाचनबारे छलफल भएको छ । राष्ट्रपति निर्वाचनका अलावा अन्य राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ ।
नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरुमा ठूला दल (कांग्रेस र एमाले) एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
यसैबीच, राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलले सोमबार बिहान नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका थिए ।
निर्वाचन आचारसंहिता लागु हुन केही घण्टा अगाडि सोमबार साँझ नेपाली कांग्रेसका नेताहरुले राप्रपाका नेताहरुसँग छलफल गरेका छन् ।










