Logo
Logo

बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक


3.8k
Shares

काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजे बस्ने तय भएको हो ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । सोही विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी हुनेछन् ।

यसअघि आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागी माओवादी धारका नेताहरुले माओवादीलाई हेप्न थालिएकाले एकजुट भएर प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए । माओवादी धारका नेताहरुबीच सकेसम्म पार्टी एकता र त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्ने पहल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्