काठडमाडौं । राष्ट्रपति निर्वाचनमा मतदाताले कुनै पनि मोबाइललगायतका कुनै पनि उपकरण लैजान नपाउने भएका छन् ।
राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको बारे जानकारी गराउँदै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मतदानस्थला मतदाताले बुथमा मोबाइल फोन लगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने जनाएका हुन् ।

निर्वाचनका लागि सबै तयारी पूरा भएको उनले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ । उनले भने, ‘सुरक्षाकर्मीले आवश्यक सुरक्षा जाँच गर्छन्, यो गोप्य मतदान हो, बुथमा जाँदा मोबाइल लगायत कानुनले निषेध गरेका कुनै पनि उपकरण लैजान मिल्दैन ।’
राष्ट्रपति निर्वाचनका लागि संघीय सांसदहरूका लागि एक र प्रदेशसभा सदस्यहरूका लागि अर्को गरी दुई वटा मतदान केन्द्र बनाइएको छ । उनले बिहीबार दिउँसो ३ बजेसम्म मतदानपछि मुचुल्का गर्ने र ४ बजेदेखि अन्नपूर्ण स्काई हलमा मतगणना गर्ने गरी तयारी गरिएको बताए ।
राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।










