काठमाडौं, १० कात्तिक ।
ट्रायलमा सहभागी नै नभएकालाई पास गराएर लाइसेन्स दिने यातायातका कर्मचारी, प्रहरी र बिचौलियालाई विशेष अदालतले दोषी ठहर गरी सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षअघि मुद्दा दायर गरेका १४ जनालाई नै विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले बुधबार सो मुद्दाको फैसला गरेको हो । विशेष अदालतले यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर श्याम केसी र नेपाल प्रहरीका सइ श्रीराम तिवारीलाई ६ महिना कैद र सात हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । अर्का सइ विमल खरेललाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय भएको छ । मेकानिकल इन्जिनियर केसीविरुद्ध आयोगले अर्काे मुद्दासमेत दायर गरेको थियो ।
प्रहरी जवान गणेश खड्का तथा बिचौलियाहरू गणेश प्रजापति, दिनेश श्रेष्ठ, बाबुकार्की महर्जनलाई तीन महिना कैद र तीन हजार पाँच सय रुपैयाँ जरिवाना भएको छ । बिचौलियाहरू श्यामकृष्ण श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धवबहादुर खत्री, सुरेन्द्र श्रेष्ठ, निमा लामा, बद्रीमान मुस्याख्वा र श्यामप्रसाद खनाललाई १५ दिन कैद र दुई हजार पाँच सय रुपैयाँ जरिवाना भएको छ ।
उनीहरूले दुई सय २४ जनालाई ट्रायलविनै हेभी सवारीसाधनको लाइसेन्स दिएका थिए । त्यसबापत प्रतिव्यक्ति ४० हजार रुपैयाँसम्म लिएको खुलेको थियो । ट्रायलमा अनुपस्थित भएकाहरूलाई पास गरेको रेकर्डमा देखाएर कर्मचारी र प्रहरी मिलेर अनियमितता गरेका थिए ।
ठूला व्यापारीहरु पौने तीन करोडसहित जुवाखालाट पक्राउ
काठमाडौं, १० कात्तिक । मिनि क्यासिनोका रुपमा सञ्चालित एक जुवा अखडाबाट २५ जना हाइप्रोफाइल व्यापारीलाई पक्राउ गरेको छ ।












